भारत हुँदै भूटान पुगेका एक अमेरिकी नागरिकमा कोरोना, इटालीमा २४ घण्टामै १०७ को मृत्यु



एजेन्सी, २३ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात (कोभिड १९) को संक्रमण भूटानमा पनि देखिएको छ । भारत हुँदै भूटानको राजधानी थिम्पू पुगेका एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण फेला परेको भूटानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती अमेरिकी नागरिक गत सोमबार भारत हुँदै हवाइजहाज मार्फत थिम्पू पुगेकी थिइन् । थिम्पूको विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ । यो सँगै भूटान सरकारले आजबाटै लागू हुनेगरी दुई साताका लागि विदेशी पर्यटकलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाएको छ । भाइरस संक्रमित अमेरिकी नागरिक साथै उनको सम्पर्कमा आएका अन्य २१ जनालाई क्‍वारेन्टाइनमा राखेको छ ।

कोरोना भाइरसबाट इटालीमा मृत्यु हुनेको संख्या १४८ पुग्यो
इटालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ । बिहीबार सम्ममा इटालीमा जम्मा ४१ जनाको मात्रै मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आज शुक्रबार मृतकको संख्या १४८ पुगेको छ । अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गएको २४ घण्टामा इटालीमा १०७ जनाको ज्यान गएको हो । अहिले इटालीका विभिन्न २२ वटा शहरमा कोरोनाको प्रकोप देखिएको । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । इटालीको सरकारले भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको अर्को एक समाचारमा जनाइएको छ । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।
जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार