कोरोना संक्रमणका कारण दुबईमा एक नेपाली महिलाको ज्यान गयो !



काठमाडौं, २४ चैत । कोरोना भाइरस संक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदार एक नेपाली महिलाको ज्यान गएको छ । दुबईस्थित अल रफ्फा प्रहरी चौकीका अनुसार कोरोना भाइरस संक्रमणका कारण ४० वर्षीया एक नेपाली महिलाको ज्यान गएको हो । ती महिला देवदह ६ वुटवलकी स्थानीय बताइएको छ । जानकारी अनुसार उनी विगत दश वर्षदेखि दुवईमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । पछिल्लो समय उनी दुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी बताइएको छ ।

ती महिलाले मुटु र पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो । साथै अस्पतालले गए शुक्रबार नै ती महिलालाई मृत घोषणा गरिसकेको थियो तर, कोरोना संक्रमणकै कारण उनको ज्यान गएको भन्ने पुष्टि भएको थिएन । यसैबीच दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको बताइएको छ ।

आवुधावीस्थित नेपाली दूतावासले यस विषयमा अनौपचारिक सूचना आएको जनाएको छ । हालसम्म यूएईमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या दुई हजार ७६ पुगेको बताइएको छ । आज (सोमबार) मात्रै तीन नेपालीमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार