काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो



काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।

आज मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार