कोरोना भाइरसविरुद्धको भ्याक्सिनले सफलता पाए एक सय मिलियन डोज उत्पादन गरिने



लण्डन, १९ वैशाख । बेलायतका वैज्ञानिकहरु कोरोना भाइरस संक्रमणको भ्याक्सिन परीक्षणमा व्यस्त छन् । यदि कोरोनाविरुद्धको भ्याक्सिनले काम गर्यो भने गर्मी महिनाको सुरुमा नै थाहा हुने वैज्ञानिकहरुले बताएका छन् । गत हप्ता अक्सफोर्ड विश्वविद्यालयको खोप टोलीले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गर्न सुरु गरेको छ । उक्त टोलीले अहिले खोपको विशाल रोल आउटको लागतका लागि फर्मास्यूटिकल विशाल एस्ट्राजेनेकासंग सम्झौता गरेका छन् ।

यदि गत हप्ता मानवमा परीक्षण गरिएको भ्याक्सिनको ट्रायलले सफलता हासिल गरेमा यो वर्ष कम्पनीले एक सय मिलियन डोज उत्पादन गर्ने जनाएको छ । अक्सर्फोर्ड युनिभर्सिटीका मेडिसिनका रेगियस प्रोफसर जोन बलले भनेका छन्, ‘सयौं स्वयंसेवकहरुलाई प्रयोगात्मक इन्जेक्सन दिइसकेको छ ।’ उनले अगाडि थपे, ‘टोलीले जुनको मध्यसम्म केही ठोस निकाल्ने गरी काम गरिररहेको संकेत दिएको छ ।’

भ्याक्सिन परीक्षणले सफल भएमा मानिसहरुको जीवन कोरोनाबाट मुक्त भएर पहिलेको सामान्य जीवनमा फर्कनको लागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरुले जनाएका छन् । भ्याक्सिन परीक्षण ८० प्रतिशत सफल भएको अक्सफोर्ड परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर सारा गिलबर्टले बताएका छन् । जोनसनले बीबीसी टुडेको कार्यक्रममा एस्ट्राजेन्कासंगको साझेदारीले यसलाई छिटोे बाहिर ल्याउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्दछ । एस्ट्राजेनेकाका बास्क पास्कल सोरियटले खोपमा लगानी गर्नु भनेको जोखिमपूर्ण रहेको र यसलाई महामारीबीच लागत मूल्यमा आपूर्ति गरिने बताउनुभयो।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार