डेक्सटपमा फेसबुकको नयाँ डिजाइन, यसरी गर्नुहोस् प्रयोग



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो साइटको विस्तृत रिडिजाइन सबैका लागि उपलब्ध गराएको छ । यसअघिसम्म सीमित देश र प्रयोगकर्तालाई मात्र उपलब्ध गराइएको नयाँ डिजाइन शुक्रबारबाट सबैलाई उपलब्ध भएको हो । नयाँ डिजाइनामा डार्कमोड पनि उपलब्ध छ । डार्कमोड सहितको यो नयाँ डिजाइन सार्वजनिक गर्ने विषयमा एक वर्षअघि नै फेसबुकले आफ्नो डेभलपर कन्फ्रेन्समार्फत जानकारी दिएको थियो । त्यसपश्चात कम्पनीले समय समयमा विभिन्न देश र विभिन्न प्रयोगकर्तालाई नयाँ डिजाइन परीक्षणका लागि उपलब्ध गराउँदै आएको थियो ।

नयाँ डिजाइन हेर्दा एकदमै सफा र प्रयोग गर्न रमाइलो छ । यो नयाँ डिजाइनका कारण फेसबुक चलाउन प्रयोगकर्ताहरुलाई आनन्द महशुस हुनेछ । तर यसमा भएको एउटा परिवर्तनका कारण तपाईं झुक्किन भने सक्नुहुन्छ । यसअघिको डिजाइनमा बायाँपट्टिको मेनुको ड्रप डाउन मेनुबाट नयाँ तथा टप न्युज फीडहरु सर्ट गर्न सकिने बनाइएको थियो । तर अबको नयाँ डिजाइनमा स्क्रिनको टपमा रहेको आइकनबाट न्युज फीडमा एक्सेस पाउन सकिन्छ । तर होम बटनबाट स्वीच गर्ने अप्सन भने हुने छैन ।

फेसबुकले अबको केहि समयपश्चात नयाँ डिजाइनलाई पूर्णरुपमा रोलआउट गर्नेछ । यसको अर्थ सबै प्रयोगकर्ताले नयाँ डिजाइन अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । तर हाल भने कम्पनीले केही समयको लागि सबैलाई नयाँ डिजाइन विकल्पको रुपमा उपलब्ध गराएको छ । यदी तपाईंले डेक्सटपमा नयाँ डिजाइन प्रयोग गर्नु भएको छैन र प्रयोग गर्ने तरिका थाहा समेत जान्न चाहनुहुन्छ भने यहाँ हामी तपाईंलाई बताउँदै छौं । फेसबुकले उपलब्ध गराएको नयाँ डिजाइन प्रयोगका लागि सुरुमा फेसबुकको दाँया साइडको माथि रहेको ‘डाउन एरो’ मा क्लिक गर्नुहोस् । त्यहाँ ‘स्विच टु न्यु फेसबुक’ भन्ने अप्सन देख्न सक्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्ने बित्तिकै तपाईंले फेसबुकको नयाँ डिजाइन प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईं नयाँ डिजाइनको फेसबुक डार्कमोडमा प्रयोग गर्न चाहनुहुन्छ भने अघि जस्तै ‘डाउन एरो’ मा क्लिक गरी डार्कमोड अन गर्न सक्नुहुन्छ । यदि तपाईंलाई फेसबुकले उपलब्ध गराएको नयाँ डिजाइन मन परेन र पूनः पूरानै डिजाइन प्रयोग गर्न चाहनुहुन्छ भने अघि जस्तै ‘डाउन एरो’ मा क्लिक गर्नुहोस् । त्यहाँ अघिकै स्थानमा ‘ब्याक टु क्लासिकल फेसबुक’ देख्नुहुनेछ । त्यसमा क्लिक गरी अहिले प्रयोग गरिरहेको फेसबुक नै प्रयोग गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार