दार्चुलामा भारतीयकाे दादागिरी, पत्रकारकाे क्यामेरा खाेस्याे, प्रहरीलाई समेत कुट्याे !



दार्चुला, ८ जेठ । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाेसेका छन् । भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन ।

दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कुटिएका छन् । ‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू खटिएकाे पनि जानकारी दिनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको संकटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार