प्रमाणले भन्छ- लिम्पियाधुरा नै काली नदीको मुहान



काठमाडौं, ९ जेठ । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ । इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन् ।

प्राडा ढुङ्गेलले भन्नुभयो–“इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन् । सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु । त्यसमा काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ ।” ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय अभिलेखालयमा संरक्षित तथ्यहरूबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र हाम्रो हो ।” उहाँले ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महìवपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको चर्चा समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुगौली सन्धि हुनुभन्दा अगाडिको स्केच म्याप पनि पाइएको छ । इस्ट इन्डिया सरकारले छापेको सन् १८२७ को नक्सा र त्यसपछि सन् १८५६ सम्म छापिएका आधिकारिक नक्सामा लिम्पियाधुराबाट पूर्व बग्ने नदीलाई काली भनिएको छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार