सिकाइमा सामाजिक सञ्जालकाे प्रयोग: सामाजिक सञ्जालबाट सिक्दै सरस्वती माविका विद्यार्थी !



ललितपुर | आज विश्व नै कोरोना भाईरस (कोभीड-१९) को प्रभावले भ्रमित, त्रसित र ग्रसित भैरहेको अवस्थामा छ । नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्नु नौलो भएन । देशको आर्थिक, सामाजिक-सांस्कृतिक, राजनैतिक पक्ष सँगसँगै शैक्षिक क्षेत्र पनि आक्रान्त भएको सर्वविदितै छ । २०७६ चैत्र ११ देखी सुरु भएको बन्दाबन्दी सुरुवात हुनु अघि देखी नै सबै प्रकारका शैक्षिक संस्थाहरु बन्द प्राय छन् । कतिपय शैक्षिक संस्थाहरु क्वारेन्टाइन त कतिपय आइसोलेसन सेन्टरको रुपमा परिणत भएका छन् भने कतिपय विद्यालयका कक्षाकोठामा माकुराका जालो र चौरमा घासका झाडि बनेका छन् । उता विद्यार्थी भने लकडाउनको शारीरिक, मानसिक तथा संवेगात्मक पीडा सहेर बस्न बाध्य छ्न् । शिक्षकहरु पनि आआफ्नो पारिवारिक र सामाजिक काममा व्यस्त हुनुहुन्छ ।

कोरोना महामारिको प्रभाव चिनको उहानबाट युरोप हुँदै पुनः दक्षिण एसिया तर्फ प्रवेश गर्दैगरेको सँईको पाए पछि नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले एक निर्देशनात्मक विज्ञप्ति निकाल्यो । जसमा २०७६ चैत्र ५ गते भित्रमा शैक्षिक सत्र २०७६ को बिध्यालय तहका सबै प्रकारको बार्सिक परिक्षा सम्पन्न गर्ने र बढी भिडभाड तथा जोखिमपुर्ण स्थानहरुमा मानिसको आवागन कम गरि SEE परिक्षा सन्चालन गर्ने गर्नु भनी उल्लेख थियोे । उक्त निर्देशनात्मक सुचनालाई सिरोधार्य गरि अधिकांश स्थानिय तहरुले आधारभुत तह उतिर्ण परिक्षा (कक्षा ८) र विद्यालयहरुले अन्य कक्षाका परिक्षाहरु सम्पन्न गरे । तथापी हामी छुट्टै सरकार हौ, संघीय र प्रदेश सरकारलाई चिन्दैनौ भन्ने केहि स्थानिय तहकाे हठका कारण केहि विद्यार्थीहरु शैक्षिकसत्र २०७७ को जेठसम्म पनि शैक्षिकसत्र २०७६ को वार्षिक परिक्षामा सामेल हुनबाट वञ्चित भए ।

२०७६ चैत्र ५ सम्ममा विद्यालयका अन्य परिक्षाहरु सम्पन्न गर्ने र चैत्र ६ देखी SEE परिक्षा सन्चालन गर्ने गरि सबै परिक्षाकेन्द्रमा सम्पूर्ण तयारी पुरा भैसकेर पनि सरकारले परिस्थिति गम्भिर भएको ठहर गर्दै दिएको निर्देशन अनुसार रास्ट्रिय परिक्षा बोर्डले चैत्र ५ गते साझ अबेर अर्को सुचना प्रकाशित नहुँदा सम्मका लागी भन्दै SEE परिक्षा स्थगन गर्यो । त्यसैगरी राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने कक्षा ११ र १२ का परिक्षा पनि अनिश्चित भए । यसरी SEE परिक्षा स्थगन भए पश्चात् देशभरका करिब ४ लाख विद्यार्थीहरु अब परिक्षा के,कस्तो,कहिले,कहाँ र कसरी हुने भन्ने अन्यौलतमा छन । शिक्षामन्त्री र शैक्षिक सरोकारवालाहरुले दिनहुँ आआफ्ना किसिमका भाकामा डम्फू बजाएकाे सुन्न सकिन्छ । यसरी सबैतिरका विद्यार्थीहरु दुबिधामा हुँदा पनि गोदावरी नगरपालिका-५, लेले स्थिति सरस्वती मा. बि. का SEE परिक्षा २०७६ मा सहभागीहुने ४८ जना विद्यार्थीहरु भने निश्चीन्त छन् ।

फेसबुक, ट्विटर , युट्युब जस्ता सामाजिक सन्जाल आज भोलिका युवा विद्यार्थी माझ जति लोकप्रिय छन् त्यति नै तिनीहरुको दुरुपयोगबाट युवापुस्ता ग्रसित हुदै गएको अवस्था छ । त्यसैले सामाजिक सन्जालको प्रयोगलाई बन्देज लगाउन पर्ने माग समेत यदाकदा सुन्न सकिछ। सामाजिक सञ्जाललाई बन्देज लगाउनुभन्दा पनि व्यवस्थित बनाउनु अबको आवश्यकता हो । सामाजिक सञ्जाल दुरुपयोग भएका र अधिकांश विद्यार्थीहरु मोबाइलको लतले अध्ययनमा ध्यानकेन्द्रित गर्न नसकेको अभिभावकहरुको गुनासो आइरहेको सन्दर्भमा पनि सरस्वती माविका ४८ जना विद्यार्थीहरु भने सामाजिक सञ्जालकाे प्रयोग गरि सिकाईमा जोडिएका छन् । उक्त विद्यालयका माध्यमिक विज्ञान शिक्षक नानिराम सन्जेलको सक्रियतामा विज्ञान सिकाई थलो (२०७६ SEE समुह )नामको फेसबुक ग्रुप सृजना गरि हरेक दिन शिक्षक-विद्यार्थीहरु बीचमा अन्तरक्रियात्मक ढंगबाट सिकाई भइरहेको छ । विज्ञान सिकाई थलो ग्रुपबाट विद्यार्थी र शिक्षक बिचमा साैहार्द वातावरणमा सिकाई हुने गरेको शिक्षक सन्जेल बताउनुहुन्छ ।

SEE तयारी गरेर बसिरहेका अधिकांश विद्यार्थीहरु परिक्षा हुने नहुने अन्यौल भएपछि मोबाइलमा विभिन्न प्रकारका खेल खेल्ने, साथीभाईहरु बिच अनलाइनमा अनावश्यक गफगाफ गर्ने, लकडाउनको उल्लंघन गर्दै घर बाहिर खेल्न ,घुम्न निस्कने आदि क्रियाकलापमा सहभागी हुने क्रम बढ्दो थियो । विभिन्न तरिकाले समय बिताई रहेका तिनै विद्यार्थीहरु मध्येका एक राज महतले उक्त ग्रुप तयार गरेर शिक्षक तथा विद्यार्थीहरुलाई एकै थलोमा जोड्न र सिकाई सम्भव हुने वातावरण बनाउन सहजीकरण गरेका थिए। विद्यार्थीहरु आफैं स्व:स्फुर्त रुपमा सिक्न तत्पर रहेको र उनिहरु आफैंले सामाजिक सञ्जालमा ग्रुप तयार गरी आफुलाई पनि Add गरेकाले आफु निकै उत्साहित भई विद्यार्थीकाे सिक्ने अभिलाषा पुरा गर्न हरतरहले प्रयासरत रहेको शिक्षक सन्जेल बताउनुहुन्छ। साथै विद्यार्थीहरुकाे अभिरुची अनुसार उनिहरु आफैं खोजी गरेर सिक्ने भएकाले आफुले सहजीकरण मात्र गरे पुग्ने शिक्षक सञ्जेलकाे भनाइ छ । सिकारुलाई सिक्नका लागी आफुले उत्प्रेरित गरिरहनु नपरेको शिक्षक सञ्जेलल बताउनुहुन्छ ।

हरेक दिन शिक्षकले विभिन्न किसिमका अध्ययन सामाग्री खोजी र तयारी गरि विद्यार्थीहरु माझ अनलाइनमा प्रस्तुत गर्ने गरेको र ती सामाग्रीहरुको अध्ययन गरी समुहमा अडियो, भिडियो र च्याटको माध्यमबाट शिक्षक र साथीहरू संगै छलफल गर्नु दैनिकी जस्तै बनेको विद्यार्थीहरु बताउँछन् । त्यती मात्रै होइन शिक्षकले हरेक दिन परिक्षा तयारी सम्बन्धि छ्लफल गरिएका विषयवस्तु समावेश गरि Assignment प्रदान गर्ने र विद्यार्थीले तोकिएको समय भित्र ती काम सकेर पुनः ग्रुपमा अपलोड गर्ने गरिएको छ । शिक्षकबाट आवश्यक पृष्ठपोषण लिने दिने काम नियमित हुँदा यसबाट फुर्सदको समयको सदुपयोग हुने र शिक्षकको प्रत्यक्ष मार्गदर्शन बिना पनि खोजेर सिक्ने बानिको बिकास हुनेमा दुईमत रहदैन । ग्रुपका सहभागी मध्येका कोन्ज्योसोम-४, नल्लुका विद्यार्थी अनिश घलानले अरु समयमा आफुहरु अनलाइन गेम खेलेर वा फेसबुकमा च्याट गरेर समय बिताउने गरेको भन्दै ग्रुपमा छलफल थालेपछि पढाइमा ध्यान जान थालेको बताउँछन् । आफ्नो खेर गएको समय अध्ययनमा लगाउन पाएकोमा दंग पर्दै आफ्नो सिकाईलाई प्रभावकारी बनाउन सहयोग गरेकोमा खुसी व्यक्त गरे । अनावश्यक गेम खेल्ने, फेसबुकमा च्याट गर्ने अनि टिकटक बनाउने समय यतिबेला सरस्वती माविका विद्यार्थीले पढाइमा लगाएका छन । आज भोली निश्चित समय ग्रुपमा जोडिने र अन्य समय त्यहीँ भएको छलफल र खोजीमा समय बित्ने भएकोले आफुहरु व्यस्त रहेको उनिहरुकाे भनाइ छ । यसरी अध्ययन गर्दा समय बितेको पत्तो नहुने र अनावश्यक हिँडडुल गर्ने बानी पनि नहुने हुँदा बाहिरी व्यक्तिहरुकाे सम्पर्क नभईने जसले गर्दा राेग फैलिने जाेखिम कम भएको विद्यार्थीहरुकाे तर्क छ ।

SEE लगायत अन्य तहका परिक्षाहरुको समेत अनिश्चितता भैरहेको अवस्थामा विद्यार्थीकाे ध्यान अध्ययनमा केन्द्रित भएको भन्दै लकडाउनको समयमा घर भित्रै राख्नमा शिक्षकहरुले गरेका प्रयासबाट अभिभावकहरु समेत खुसी भएका छन । अघिल्लो साता शिक्षक नानिराम सन्जेलले गोदावरी नगरपालिका प्रमुखलाई लेखेको ” प्रविधिमैत्री स्थानीय निकाय बन्ने अवसरको उपयोग गरौ” भन्ने शिर्षकको खुलापत्र बागमती अनलाईन मार्फत प्रकाशित भैसकेपछी नगरप्रमुख गजेन्द्र महर्जनले आफुले उक्त पत्र पढेर त्यसमा प्राप्त सुझावहरुलाई ग्रहण गरेको भन्दै सम्भव भएसम्मका विधिहरु अपनाएर विद्यार्थीलाइ सिकाई अवसरबाट वञ्चित हुन नदिने तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभएकाे थियो । उहाँले निकट भविष्यमै स्थानिय रेडियो, टेलीभिजन र अन्य माध्यमबाट पठनपाठन गर्ने वातावरण बनाउन पहल गर्ने जानकारी आफुलाई दिनु भएको शिक्षक नानिराम सञ्जेल बताउनुहुन्छ । यसबाट आगामी दिनमा अनलाइन शिक्षण र दुर शिक्षण विधीको प्रयोगबाट गोदावरीका सबै बालबालिकाहरु लाभान्वित हुने आशा गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार