एमसिसी कार्यक्रम ३ वर्षदेखि बजेटमा छ, संसदबाट अनुमोदन भए मात्र रकम निकासा हुन्छ : अर्थमन्त्री



काठमाडौं, १९ जेठ । अर्थमन्त्री युवराज खतिवडाले संसदबाट पारित हुन बाँकी रहेको अमेरिकासँग गरिएको एमसीसी सम्झौताका परियोजना बजेटमा राखेको स्वीकार गर्नुभएकाे छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री खतिवडाले एमसिसी अन्तरगतका कार्यक्रम तीन वर्षदेखि देखि नै बजेट परिचालन गरिरहेको बताउनुभयाे । ‘एमसिसीको सहयोगमा तीन वर्षदेखि कार्यक्रम गर्दै आएका छौँ, आगामी वर्षको बजेटमा पनि उक्त कार्यक्रम राखिएको छ,’ बैठकमा अर्थमन्त्री खतिवडाले भन्नुभयाे । बजेट प्रस्तुत गर्ने क्रममा भने एमसीसीका कार्यक्रम भनेर उल्लेख गरिएको थिएन । बजेटमा ४०० केभीका विद्युत प्रसारण लाइन निर्माण गर्ने भनिएको छ ।

मन्त्री खतिवडाले संसदबाट एमसिसी सम्झौता पारित भएपछि मात्रै उक्त कार्यक्रम अन्रतगतको रकम निकासा सम्भव हुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अमेरिकी सहयोगको रकम जुन बेला मात्रै निकासा हुन्छ, त्यो बेला मात्रै संसदबाट उक्त कार्यक्रम अनुमोदन हुन्छ ।’ अमेरिकी, बेलायती वा अन्य देशका सहयोगको प्राथमिकता बजेटमार्फत हुने र त्यसमा राष्ट्रिय हितलाई प्राथमिकता दिइँदै आएको उहाँले बताउनुभएकाे छ । एमसीसी सम्झौता पारित नहुँदै बजेटमा राखेको भन्दै सत्तारुढ र केही विपक्षी सांसदले पनि आलोचना गरेका थिए । जवाफमा अर्थमन्त्री खतिवडाले सबै सम्झौता राष्ट्रको हितमा हुने भन्दै आश्वस्त पार्न खाेज्नुभएकाे छ ।

अमेरिकासँग तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेको एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपा अझै अनिर्णित छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक एमसिसी सम्झौता संसदबाट पारित गर्न दबाब दिइरहनुभएकाे छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार