कर्णाली प्रदेश : ३३ अर्ब ७४ करोडकाे बजेट प्रदेश सभामा पेश



कालिकोट, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा उक्त बजेट पेश गर्नुभएकाे हाे । बजेटमा कोरोना भाइरस नियन्त्रण तथा राेकथाम र जनस्वास्थ्य प्राथमिकतामा राखिएकाे छ । कर्णाली प्रदेशमा कसैको काेराेनाबाट मृत्यु भएमा एक लाख राहत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । साथै काेराेना विरूद्धकाे माेर्चामा खट्ने स्वास्थ्यकर्मीहरूलाइ प्राेत्साहन भत्ता उपलब्ध गराइने कुरा प्राथमिकतामा राखिएकाे छ ।

एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ । कोभिड १९ लाइ परास्त गर्न खटे्का सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो । चालु आर्थिक वर्षमा काेराेना महामारीका कारण पुँजीगत खर्च र चालु खर्च दुवै प्रभावित भएकाे मन्त्री ज्वालाकाे भनाइ छ । यस आवकाे बजेटको तुलनामा संशोधित विनयोजन ४६ प्रतिशत अर्थात् १५ अर्ब ९३ करोड ६७ लाख १९ हजार हुने अनुमान छ । संशोधित विनियोजनमा चालु खर्च ५१ प्रतिशत र पुँजीगत खच ४९ प्रतिशत रहने अनुमान बजेट वक्तव्यमा उल्लेख छ ।

वक्तव्य अनुसार आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्चकाे स्राेतमध्ये आन्तरिक राजश्वबाट रू ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम रू ११ अर्ब १९ करोड ९ लाख ८५ हजार परिचालन गरिनेछ । यसैगरी संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम रू ७ अर्ब १९ करोड ५६ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रू ९ अर्ब ६३ करोड २९ लाख तथा सशर्त अनदुानबाट रू ४ अर्ब ४९ करोड ११ लाख परिचालन गरिने बताइएकाे छ ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार