भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित, बार्सिलोनासँगको अंक दूरी घटायाे



एजेन्सी, ५ असार । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेकाे छ । गएराति आफ्नै घरेलु मैदानमा रियलले भ्यालेन्सियालाई ३-० गाेल अन्तरले पराजित गर्यो । रियललाई सहज जित दिलाउनका लागि करीम बेन्जेमाले दुई गाेल गरे भने एसेन्सियोले एक गोल गरे । रियलको सबै गोल दोस्रो हाफमा गरेकाे थियाे । दुवै टोलीले पहिलो हाफमा थोरै मात्र अवसर बनाए ।

पहिलाे हाफ गाेलरहित बराबरी खेलेकाे रियलले दाेस्राे हाफमा तीन गाेल गर्याे । खेलकाे ६१ औं मिनेटमा बेन्जेमाले गाेल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले इडेन हाजार्डको पासमा गाेल गरेका थिए । लुका मोड्रीचको पासलाई हाजार्डले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट बेन्जेमालाई पास दिएकाे थियाे । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्को एसेन्सियोले गाेल गर्दै रियलकाे अग्रता दाेब्बर बनाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए । एसेन्सियोले फर्लान्ड मेन्डीको क्रसलाई उनले गाेल गरेका थिए ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे । उनले एसेन्सियोकाे पासमा उक्त गाेल गरेका थिए । याे जितसँगै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । रियलको २९ खेलबाट ६२ अंक जाेडेके छ भने समान खेल खेलेकाे बार्सिलोनाकाे ६४ अंक छ । भ्यालेन्सिया भने २९ खेलमा ४३ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार