यस्तो छ लाखौं कमाई हुने बेसार खेती गर्ने तरिका ! (सम्पूर्ण जानकारी सहित )



वेसारलाई अंग्रेजीमा (Turmeric) भनिन्छ, यसको वैज्ञानिक नाम Corcuma longa हो । Zingiberaceae परिवार अन्तर्गत पर्ने यो वाली मुख्यतया मसलावालीको रुपमा चिनिने भएता पनि यसको गानो र धुलो औषधिको रुपमा तथा कपडा, टायलहरुमा रंगाउने कामको लागि पनि प्रयोग हुने गर्दछ । थोरै मात्रामा भएपनि दैनिक रुपमा अत्यावश्यक पर्ने वेसारको धार्मिक उत्सव वा पुजापाठ आदिमा पनि उक्तिकै महत्व रहेको पाईन्छ । यसको गानोलाई हलेदो भनिन्छ भने पाउडरलाई वेसार भनिन्छ । दक्षिण पुर्वी एसियाका देशहरुमा उत्पत्ति भएको मानिने बेसारको विश्वमा भारत , पाकिस्तान , वंगलादेश, हाइटी, जमाईका, चीन, पेरु प्रमुख उत्पादक राष्ट्रका रुपमा चिनिन्छन् । वेसारमा पाईने प्रमुख तत्व एक प्रकारको रंग Curcumin हो, यो गानोमा सरदर १.८% – ५.४ % पाईन्छ भने वासनादार तेल २.५% – ६.२% सम्म पाउन सकिन्छ । बेसारको सामान्यतया तराई देखि १६०० मि. अग्लो मध्यपहाडका जिल्लाहरुमा खेति गर्न सकिन्छ । नेपालको स्थान विशेषको आधारमा केहि खास गुण भएका स्थानिय जातहरुको खेति गरिने भएता पनि अनुसन्धानका क्रममा रहेका CI (९८०१), CI (९८०३), CI (९८०४), CI (०२०९) जातहरु उत्पादन तथा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट पाईएका छन् जसमध्ये CI (९८०१) जात उन्मोचनको अन्तिम प्रकृयामा रहेको छ । नेपालमा वेसारको उत्पादकत्व ८.१७ मे.टन/हे. (ABPSD २०११/२०१२) रहेको र माग अनुरुपको पुर्ति हुन नसकिरहेकोले यसको व्यावसायिक विस्तारको राम्रो संभाव्यता देखिन्छ ।

यसको व्यावसायिक खेतिका निम्ति निम्न प्राविधिक कुराहरुमा ध्यान पुर्याउनु जरुरी हुन्छ :

हावापानी
बेसार खेति गर्मी र आर्द्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो विरुवाको वृद्वि विकास सफलतापुर्वक हुन सक्छ । वेसार खेति समुन्द्र सतहदेखी १६०० मि. सम्मको उचाईमा गर्न सकिन्छ , यसको सफल खेतिका लागि २०–३० डि.से.को तापक्रमको आवश्यकता पर्दछ । औषत वार्षिक वर्षा १०००–२००० मि.मि. हुने क्षेत्रमा विना सिंचाई पनि वेसार खेति सफलतापुर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो वालीलाई नोक्सान गदर्छ ।

माटो
बेसार खेतिको लागि प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको,
पानी नजम्ने हलुका फोक्रो र दुमट माटो उत्तम मानिन्छ । पानीको उचित निकास नभएको ठाउँमा वेसारलाई ड्याङ वनाएर लगाउनु पर्छ । थोरै अम्लिएपना भएको माटो वेसार खेतिको लागि
उपयुक्त मानिन्छ भने वढि क्षारयुक्त माटो वेसारको लागि राम्रो मानिदैन । वेसार खेतिको लागि माटोको पि.एच. ५.५ – ६.५ उपयुक्त हुन्छ ।

जात
नेपालको स्थान विशेषको आधारमा केहि खास गुण भएका स्थानिय जातहरुको खेति गरिने भएता पनि अनुसन्धानका क्रममा रहेका CI (९८०१), CI (९८०३), CI (९८०४), CI (०२०९) जातहरु उत्पादन तथा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट पाईएका छन् जसमध्ये CI (१८०१) जात उन्मोचनको अन्तिम प्रकृयामा रहेको छ । CI (१८०१) (कपुरकोट हलेदो १) को

जातीय बिशेषता :
वाली तयार हुने समय : मध्यम
(२४५–२६० दिन)
डाँठको संख्या : ३.२३ प्रति बोट ।
पानाको संख्या : सरदर ३ प्रति बोट ।
गानोको तौलः २५०–३०० ग्राम प्रति गानो ।
सरदर उत्पादन : २७.८३ मे.टन प्रति हेक्टर ।
उत्पादन क्षमताः ४०–४२ मे.टन प्रति हेक्टर
वेसार धुलो वन्ने क्षमताः १३.८ %
क्युरक्युमिनको मात्राः ४.८९ %
तेलः ७.५%

वाली लगाउने समय
वेसार लगाउने समय मुख्यतः स्थानीय ठाउँको हावापानीमा भर पर्ने भएता पनि मध्यपहाडमा चैत महिनामा लगाउदा उपयुक्त हुन्छ भने तराई क्षेत्रमा वैसाखको दोस्रो हप्ता देखि मनसुन सुरु हुने वेला सम्ममा लगाउन सकिन्छ । बेसार लगाउन ढिला गर्दै गएमा उत्पादनमा ह्रास हुँदै जान्छ ।

अन्तरवाली
बेसार खेति कृषकहरुले एक वाली तथा वहुवालीको रुपमा गर्न सक्दछन् । बेसार तयार हुन ८—१० महिना लाग्ने र यति लामो समय एउटै वालीले ढाक्ने हुँदा बेसार संगसंगै अन्य वालीहरु अन्तरवालीका रुपमा लगाएर बहुवाली खेति गरी एउटै जग्गावाट धेरै उत्पादन गर्दा लाभदायक हुन्छ । वेसारलाई एक वर्षे वालीको रुपमा लिईने हुँदा यसलाई आँप, कटहर, लिची, नरिवल जस्ता फलफुल बगैचामा अन्तरवालीका रुपमा लगाउन सकिन्छ ।

वीउको छनौट र विउ दर
बेसारको वोटमा फुल नलाग्ने र संयोगवस लागे पनि वीउ नलाग्ने हुदा यसको वानस्पतिक भाग (गानो) नै विउको रुपमा प्रयोग गरीन्छ । विउ छनौट गर्दा कम्तीमा दुईवटा उम्रने मुना भएको, निरोगी, नचाउरीएको, नकाटिएको ३०—३५ ग्रामको वीउ छान्नु पर्दछ । वेसारको मुख्य प्रसारण गानोवाट हुने हुदा स्वस्थ्य ३० — ३५ ग्रामको गानो प्रति रोपनी १५०—१७५ किलोग्रामका दरले प्रयोग गरिन्छ ।

लगाउने तरीका
बेसार लगाउँदा एक हारदेखि अर्को हारको दुरी ३० से.मीं कायम गरी एक बोटवाट अर्को बोट २५
से.मीं टाढा राखी ४/५से.मीं गहिरो कुलेसोमा बिउ गानो रोप्नु पर्दछ । बारीमा आवत जावत गर्न, गोडमेल गर्न प्रत्येक ४/५ लाईनपछि ४०/५० से.मी. खाली ठाँउ छोड्न सकिन्छ ।

मल्चिङ्ग (छापो राख्ने)
बेसारलाई चैत्र वैशाखमा रोपिने र प्राय असिंचित जमिनमै खेति हुने हुँदा माटोको चिस्यान जोगाई राख्न छापोको प्रयोग अत्यावश्यक हुन्छ । यसका अतिरिक्त झारपात आउन नदिन, माटोमा चिस्यान बचाई राख्न, ज्यादै बर्षा हुंदा माटोलाई बग्नबाट बचाई उपयुक्त तापक्रममा राख्न, माटोमा प्राङ्गारिक पदार्थ थप्नको लागि पशु वस्तुलाई घाँस खुवाई बचेका खुकुला स्याउला, सुकेका झारपात, पराल, खर, धानको मोटो भुसबेसारको रोपाई पछि पूर्ण रुपले माटो ढाकिने गरी ४—६ से.मी. बाक्लो संग छापोको रुपमा राख्नुपर्दछ । सुकेका वस्तुहरुको प्रयोग गर्दा हावाले उडाउन नसक्ने गरी सिठाले दबाउनु पर्दछ । सामान्यतया ४० देखि ५० ठूलो डोका पात भए एक रोपनीका लागि पुग्छ ।

मलखाद
जग्गाको धरातल, पी.एच्., माटोको मलिलोपन, लगाउने समय, जात, लगाउने दूरी आदिले कति मल राख्ने भन्ने निर्धारण गर्ने भएतापनि साधारणतया वेसारका लागी निम्नानुसार मलखादको व्यवस्थापन गर्नु पर्छ ः

क्र.सं. मलखादको नाम परिमाण (प्रति रोपनी/डेढ कठ्ठा) प्रयोग गर्ने समय

१. गोठे मल ५०–६० डोका रोप्नुभन्दा २ हप्ता पहिले जोत्दा राख्ने
२. डि.ए.पी. ३.५ के.जी जमिनको अन्तिम तयारी गरी रोप्ने समयमा
३. यूरिया २ के.जी आदि उम्रको एक महिनापछि र बाँकी उम्रको दुई महिनापछि
४. म्युरेट अफ पोटास ५.० के.जी आदि

जमिनको अन्तिम तयारीमा र बाँकी उम्रको दुई महिनापछि सिँचाई, झारपात नियन्त्रण र गोडमेल :

वर्षामा खेती गरिने भएकाले सामान्यतया सिंचाइको आवश्यकता नपर्ने भएतापनि जमिन सुख्खा
हुन गएमा चिस्यान हेरी आवश्यकता अनुसार १५ दिनको फरकमा सिंचाइ दिनु पर्दछ र बेसारले पानी जमेको सहन नसक्ने हुदाँ पानी निकासको उपयुक्त व्यवस्था मिलाउनु पर्दछ । बेसार खेतिमा प्रशस्त मलखाद प्रयोग हुने र सुरुको अवस्थामा वेसारको कम वृद्धि हुनाले झारहरु चाँडै उम्री मुख्य वाली संग खाद्यतत्व, चिस्यान, प्रकाश, अदि संग प्रतिष्पर्धा गरी उत्पादनमा ह्रास गराउने हुँदा झारपातको प्रकोप अनुसार पटक पटक गोडमेल गरी माटो खुकुलो पार्नु पर्दछ । सुरुको अवस्थामा झारपातले पछिल्लो अवस्थाको तुलनामा बढि असर पार्ने हुँदा झारको अवस्था हेरी गोडमेल गर्नुपर्दछ, युरिया मल टप ड्रेसिङ्ग गर्नु अघि झार उखेली सफा गर्नु पर्दछ ।

बाली संरक्षण
रोगहरु
बेसारमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने भएतापनि नेपालमा मुख्य गरि पातको खटिरा (Leaf spot), खैरो थोप्ले/डढुवा रोग (Leaf blotch), गानो कुहिने (Rhizome rot) रोगहरुले आक्रमण गरेको पाईन्छ यसको रोथामका लागि लक्षण देखिनु भन्दा पहिले श्रावणको पहिलो हप्तामा १.० ٪ बोर्डेक्स मिश्रण वा २ ٪ क्याप्टान, जिनेव अथवा डाईथेन जेड ७८ (०.२ ٪ — ०.३٪ ) १५ दिनको फरमा छर्कनु पर्दछ । यसका साथै रोगमुक्त क्षेत्रको स्वस्थ विउ मात्र प्रयोग गर्ने र बिउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्ने र रोगी बोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्दछ ।

किराहरु
नेपालको सन्दर्भमा हेर्दा कुनैपनि किराले ठुलो मात्रामा आर्थिक क्षती गरेको नपाईएको भएता पनि डाठको गवारो, पात बेरुवा किरा, कत्ले किरा आदिले आक्रमण गर्ने गरेको पाईएको छ । यसको व्यवस्थापनको लागि मालाथिएन, रोगर अथवा डेसिसको ०.१٪ प्रतिशत घोलले किराको आक्रमण हेरी २१ दिनको फरकमा छर्न सकिन्छ ।

बाली लिने
जब हलेदोको पातहरु पहेला हुदै जान्छन् र सुक्न थाल्छन्, सम्झनुपर्दछ कि बाली खन्ने बेला भएको छ । कृषकहरुले कहीँ कहीँ बाली लगाएको २ वर्षपछि मात्र खन्ने गर्दछन् । जात अनुरुप बाली लिने समय फरक परेता पनि सामान्यतया लगाएको ९ महिनामा बाली तयार हुने हुदा एक वर्षमा नै बाली खन्नु पर्छ । बाली लिनको लागि पौष देखि फाल्गुन सम्मको समय उपयुक्त मानिन्छ । हलेदोको डाँठहरु गाना झिक्नु भन्दा करीब ५—७ दिन अघि काट्नु पर्दछ । बाली लिन जग्गालाई हलो तथा कोदालोको सहायताले खनजोत गरी त्यसबाट वेसारका गानाहरुलाई हातले राम्रो संग टिप्नु पर्दछ । टिपिएका गानाहरु राम्रो संग सफा गरी उचित भण्डारण गरी राख्नु पर्दछ । पहाडी क्षेत्रमा उपयुक्त प्रविधि अनुसार खेति गरेमा प्रति रोपनी १.० देखि १.५ मे. टन सम्म वेसार उत्पादन हुनसक्छ । उपयुक्त समयमा बाली लिँदा यसबाट बढि सूकेको बेसार पाउन सकिन्छ ।

प्रशोधन
विशेष गरेर बेसारलाई धुलो बनाई मसलाको रुपमा प्रयोग गरिन्छ । धुलो बेसार बनाउने प्रविधि ठाँउ अनुसार फरक फरक हुन्छ, सामान्यतया बेसारको प्रशोधन गर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछ :

  • बारीवाट खनेर ल्याईएका गानावाट पुराना तथा नयाँ गाना छुट्याई छुट्टा छुट्टै प्रशोधन गर्नु पर्दछ ।
  • हलेदोका गानाहरुवाट जराहरु हटाई पानीले राम्रोसंग धोई चक्कुको सहायताले स-साना टुक्राहरुमा छुट्याएर चाना बनाई सुकाउने सुकिसकेपछि उपलब्ध साधनमापिसी मसिनोधुलो वनाई भण्डारण गर्नुपर्दछ ।
  • अथवा, गानाहरुलाई तामा वा माटोको भाडामा पानीले डुब्ने गरी राखी उमाल्ने, जबसम्म सेतो वाफ र विशेष किसिमको गन्ध आउदैन तवसम्म उमाल्नु पर्दछ । सामान्यतया ४० — ६० मिनेट उमालेपछि यो नरम हुन्छ र यसलाई पानीवाट निकाल्नु पर्छ । यसरी बनाएका बेसारका चानाहरुलाई करीव १२— १५ दिन सम्म घाममा सुकाउनु पर्दछ, सुकेको बेसार भाच्दा धातुको जस्तो आवाज आउनु पर्दछ ।
  • चानामा चिस्यानको मात्रा १० ٪ भन्दा कम भएपछि यसलाई पिँधेर धुलो बनाउने काम गर्नुपर्दछ । बेसारमा राम्रो रङ्ग ल्याउनको लागि यसलाई २० ग्राम सोडियम बाइसल्फाइड र २० ग्राम हाइड्रोक्लोरिक एसिड प्रति ४४ के.जी. गानो पानीमा राखी उमाल्ने गरिन्छ ।
  • सामान्यतया कांचो वेसारवाट १५—२० प्रतिशत प्रशोधित बेसार पाउन सकिन्छ, र यसमा ५— ६ ٪ तेल हुन्छ । बेसारको धुलोको सुरक्षित भण्डारण गर्न सकिएन भने त्यसको पौष्टिकता र गुणस्तरमा ह्रास हुन जाने हुदा धुलो बेसारको उचित भण्डारण प्रक्रियामा ध्यान पुर्याउनु जरुरी हुन्छ । बेसारको धुलोलाई सामान्यतया माटोको भाडाहरु जस्तै भुर्कि, घैटा तथा प्लाष्टिकमा राखी भण्डारण गर्न सकिने भएता पनि प्लाष्टिक राख्दा चप्किएर बिग्रन सक्ने हुदा माटाका भाडाहरुमा भण्डारण गर्नु उपयुक्त मानिन्छ ।

भण्डारण

बेसारमा चिस्यानको मात्रा धेरै हुने हुँदा सुुरक्षित भण्डारण गर्नु अत्यावश्यक हुन्छ, अन्यथा भण्डारणमा सुक्ने, चाउरिने, कुहिने आदि समस्याहरु आई वेसारको गुणस्तर घट्न जान्छ । बेसारको भण्डारण गर्दा १२—१४ डि.से. तापक्रम र ६५—७० ٪ सापेक्षित आद्रता भएको वातावरण मिलाउन सकिने कोठामा सजिलै संग ५—६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । कृषक स्तरमा यस्तो किसिमको वातावरण नियन्त्रित कोठा वनाउन खर्चिलो हुने हुदा परम्परागत खाडलमा केहि सुधार गरी वा सेलार स्टोरको प्रयोग गरी स्वस्थ बिउ भण्डारण गर्न सकिन्छ ।

निम्न लिखित तरिकाहरु अपनाई कृषकहरुको स्तरमा बेसारको सुरक्षित तरिकाले खाडलमा भण्डारण गर्न सकिन्छ :
खाडल बनाउदा छाँया पर्ने, अलिकति भिरालो, पानी नजम्ने ठाँउको छनौट गर्नु पर्छ । विभिन्न क्षमताको खाडल वनाउन सकिने भएता पनि गहिराई १ मि. भन्दा वढि हुनु हुदैन । सामान्यतया १ मि. लामो, १ मि. चौडाई, १ मि गहिरो खाडल उपयुक्त मानिन्छ । एक घन मिटर खाडलमा ३५० किलो वेसारको गानो भण्डारण गर्न सकिने हुदा उत्पादन थोरै भएको अवस्थामा सानो आकारको खाडलमा राखे पनि हुन्छ ।

२५ ग्राम ईण्डोफिल एम—४५ र मालाथिएन २५ मि.ली. १० लि. पानीमा मिसाई वनाएको विषादि घोलमा बिउ गानोलाई १ घण्टा डुवाई छाँयामा सुकाउने, खाएन बेसार भण्डारण गर्दा उपचार गर्नु हुदैन र खाडल पनि सोहि विषादिको घोल छरेर उपचार गरी सुक्न दिने अथवा खाडलमा आगो बालेर उपचार गर्ने ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार